अर्थ बजार

अर्जुनधारा र मेचीनगरका ४० महिलालाई कपडाको झोला बनाउने तालिम

By admin

February 28, 2022

झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ ।

 

मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका ११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने र बढ्दै गइरहेको प्लाष्टिकको झोलालाई निरुत्साहित गरी स्वच्छ वातावरण बनाउने लक्ष्यका साथ कार्यालयले एक महिने तालिम सञ्चालन गरेको थियो ।

 

प्रदेश नम्बर १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको १० लाखको बजेटमा सो कार्यक्रम गत माघ १३ गतेदेखि यही फागुन १५ गतेसम्म सञ्चालन गरिएको सो कार्यालयका प्रमुख जयनारायण अधिकारीले जानकारी दिए ।

 

उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दतसमेत पुग्ने हुँदा कपडाको झोला उत्पादनको निम्ति तालिम प्रदान गरिएको बताए । यसका लागि कार्यालयले दुवै स्थानमा १० वटाका दरले मेसिन, टेबुललगायत आवश्यक सामग्रीसमेत गरी करिब तीन लाखको सामान खरिद गरिदिएको छ । उनले तालिम लिएका महिलालाई नै स्वरोजगार बनाउने उद्देश्यले समूह बनाई मेसिनसहितका सामग्रीसमेत हस्तान्तरण गरिने बताए ।

 

तालिमकी प्रशिक्षक निर्मला भण्डारीले महिलाले उत्पादन गरेका झोला आफैँले खरिद गरेर बजारीकरणमा सहयोग पु¥याउने बताए । हालसम्म ६०० बढी महिलालाई उद्यमशील बनाउन तालिम प्रदान गर्दै आएकी उनले बजारमा कपडाको झोलाको अत्याधिक माग भइरहेको जानकारी दिए ।

 

अर्जुनधारा ११ की माया सुब्बाले आफूले तालिममा सिकेको सीपबाट अब व्यवसायी बन्ने र अरु युवालाई पनि स्वरोजगार बनाउने बताइन् । एक महिनासम्म तालिम लिएकी मेचीनगर १२ की आरती सेञ्चुरीले पढाइसँग व्यवसाय सञ्चालन गर्ने सोच बनाएको जनाएकी छन् । उनले विहान कलेज जाने र दिनभरको समय झोला बनाएर आयआर्जनतिर लाग्ने योजना रहेको सुनाए ।

 

घरेलु तथा साना उद्योग कार्यालयले महिलालाई उद्यमशील बन्न अभिप्रेरित गर्ने उद्देश्यले जिल्लाका १५ वटै पालिकाका युवालाई प्रशिक्षण प्रदान गर्ने तथा उनीहरुले सञ्चालन गरेका उद्योगलाई दर्ता गर्न प्रोत्साहन गर्नेलगायतका काम गर्दै आएको छ ।