ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका २ खोक्लिङकी दीपा थापा साथीसँगै पाथीभरा मन्दिर गइन् । ३ हजार ७ सय ९४ मिटर उचाइको मन्दिर पुग्न र फर्कन उनलाई निकै कठिन भयो । तर, मन्दिर क्षेत्रमा खेल्न पाएको हिउँको आनन्द उनको मानसपटलमा सदा रहने भएको छ ।
‘हामी त यति भाग्यमानी भयौं कि दिनभरि घाम लागिदियो’, थापाले थपिन्, ‘दिनभरिजसो हिउँ खेल्न पायौं ।’ जीवनका बाँकी दिनमा यस्तो अवसर मिले नमिले हिउँको मज्जादेखि दुःखसम्मको अनुभव गर्न पाएको उनले सुनाइन् ।
जाँदा र फर्कंदा बाटोमा चिप्लेर लडेको तर कतै चोट नलागेको बताउने दीपा होसियारी नअपनाए चोट लाग्न सक्ने तर खेल्दाको मज्जाले त्यसलाई भुलाउने दाबी गर्छिन् । घुन्सा, गोलालगायतका क्षेत्र टाढा भएकाले हिउँ खेल्नका लागि सदरमुकाम फुङलिङबाट पाथीभरा सबैभन्दा नजिकको गन्तव्य हो । ३१ सय मिटरको उचाइमा रहेको माथिल्लो फेदीमा पुगे प्रशस्तै हिउँ पाइन्छ ।
पाथीभरा दर्शनका लागि तीर्थयात्री आउने सिजन सुरु भएको छ । काफ्ले पाटीदेखि माथिल्लो फेदीसम्मका व्यवसायीहरू फर्किसकेका छन् । कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले यो वर्ष तीर्थयात्रीको संख्या बढ्ला भन्ने अपेक्षा छ ।
माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मै हिउँ भने बिलाएको छैन । टम्म जमेको र हिउँ बिलाउँदा पैदलमार्ग चिप्लो हुन्छ । यस्तो बेला उकालो ओरालो गर्न कठिन हुने गरेको छ । मन्दिर क्षेत्रमा त अहिले पनि टम्म हिउँ जमेको मन्दिरका पुजारी डिल्ली आचार्य बताउँछन् ।
‘पाँच पटक त यो वर्ष ठूलो परिमाणमा हिउँ पर्यो,’ घुन्साका डन्डु शेर्पाले भने, ‘अलिअलि त दिनहुँजसो परिरहन्छ, यस्ले असर गर्दैन तर ठूलो हिउँ नबिलाउँदा भने समस्या हुन्छ ।’ इकान्तिपुरबाट