बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रबाट ३ जना व्यक्तिलाई प्रहरीले धेरै परिमाण लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिकाका युवा छन् ।
अर्जुनधारा नगरपालिका ११ नम्बर वडास्थित नयाँ बसपार्क नजिकमा रहेको पूर्वपश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भद्रपुर १ का २३ वर्षीय सुमन मिश्र, २७ वर्षीय युगल खत्री र २४ वर्षीय शंकर लिम्बू छन् ।
टेम्पोमा सवार उनीहरुलाई बिर्तामोड नाका प्रवेश गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता बसन्त पाठकका अनुसार टेम्पोमा सवार ती व्यक्तिलाई शंका लागी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।
उनीहरु सवार प्र. १-१-००२ ह १०१ नम्बरको टेम्पोमा सवार थिए । उनीहरुको साथबाट लागुऔषध लुपिजेसिक, एबट, डाइजेपाम र नाइट्राभेट २ २ सय एम्पुल र ट्याब्लेटसहित टेम्पो प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ पाठकले बताए । पक्राउ परेकामध्ये मिश्र टेम्पो चालक हुन् ।
प्रनाउ पाठकका अनुसार पक्राउ परेका तीन जनालाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।