बिर्तामोड । झापाको भद्रपुरमा प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोडका २ जना तथा बझाङ र बाराका २ जना छन् ।
मंगलबार भद्रपुर नगरपालिका वडा नं ५ नयाँ बजार र मेची पुलबाट वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बलको बिओपी भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका वडा नं ९ बस्ने बर्ष २६ का प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका वडा नं ३ बस्ने बर्ष २२ का संजय बोहरा छन् । उनीहरुको साथबाट नाइट्राजेपाम ४५० ट्याब्लेट, ट्रामाडोल १६ क्याप्सुल बरामद भएको छ ।
त्यस्तै बिर्तामोड वडा नं ९ गरामनी बस्ने धनसिंह राजवंशी र वडा नं ८ बस्ने रोशन शिवाको साथबाट डाईजेपाम ३६ एम्पुल, फेनारगन २९ एम्पुल, लुपिजेसिक ३७ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जनाएका छन् ।