खेलकुद

आर्मी चौँथोपटक झापा गोल्डकपको फाइनलमा

By admin

March 11, 2022

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मी चौँथो पटक झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । आर्मीले यसअघिका तीन संस्करणको उपाधि जितिसकेको छ ।

 

दाेस्राे संस्करणमा झापा ११ लाई स्तब्ध बनाउँदै मनाङ मस्र्याङ्दी क्लबले उपाधि रक्षा गरेको थियो । त्यसपछिका संस्करणमा आर्मी हाबी हुँदै एकलौटीरुपमा उपाधिमाथि कब्जा जमाइरहेको छ । सातदोबाटोमाथिको जितसँगै आर्मी फेरि उपाधि होडमा उक्लेको छ ।

 

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।

 

खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो ।

 

६०औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २-१ मा पु¥याए । ८० औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाए । ८४औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् ।

 

स्टार खेलाडी गुमाएको सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन । ५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दिपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।

 

आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना ग¥यो । छैठौँ मिनेटमा आर्मीका दिपक गुरुङको प्रहार आकाशियो । १५औँ मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट बञ्चित भयो । २५औँ मिनेटमा टंक बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए ।

 

४१औँ मिनेटमा टंक बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो । ५८औँ मिनेटमा सन्तोष तामाङको प्रहार फस्ट बारमा लागेर फर्कियो ।

 

शुक्रबारको खेलको प्लेयर अफ द म्याच सन्तोष तामाङ तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमिफाइनल खेल झापा ११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ ।

 

आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो । झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउँदा उपविजेताले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनु पर्नेछ ।