बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ५ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा श्रीमानको कुटाइबाट घाइते भएकी उनको उपचार सम्भव नभएपछि बिहीबार राति ज्यान गएको हो ।
प्रहरीका अनुसार घटनामा संलग्न बिर्तामोड ५ का ४० वर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए ।
श्रीमानको कुटाईबाट घाइते भएकी खेमजुङको कनकाई अस्पताल बिर्तामोडमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनरस्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएका थिए ।
गम्भीर घाइते भएकी उनको बिहीबार राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।