सर्लाही । यहाँ जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा पाहुना टोली एनआरटी सहज जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतिद्वन्द्वी भरतपुर एफसीमाथि सहज जित दर्ता गरेको हो ।
एनआरटीले शून्यका विरुद्ध एकोहोरो ३ गोल गर्दा भरतपुर स्तब्ध बन्यो । उसका लागि क्रिटिश चुन्चो र स्टेफन समिरले गोल गरे भने एक गोल उपहार पाएको थियो ।
पहिलो हाफमा बराबरी खेलेको दुवै टिमका लागि दोस्रो हाफ भने एनआरटीको पक्षमा गयो । खेलको ६३औँ मिनेटमा एनआरटीका लागि क्रिटिशले गोल गर्दै खाता खोलेका थिए भने खेलको ९०औँ मिनेटमा अफ्रिकन खेलाडी स्टेफनले एक गोल थपे ।
यसअघि भरतपुरका लागि एक गोल आत्मघाती भएको थियो । बल क्लियर गर्ने क्रममा भरतपुरका विवेक मगरको प्रहार सोझै गोलपोस्टमा पर्यो । खेलको ८७औँ मिनेटमा उपहारस्वरुप पाएपछि एनआरटी २-० गोलले अघि रह्यो ।
खेलको म्यान अफ दी म्याच क्रिटिश चुन्चो घोषित भए । उनले नगद १० हजार पाए । भोलि (शनिबार) को खेल सशस्त्र प्रहरीको एपिएफ एफसी र अफ्रिकन खेलाडी आवद्ध क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।
बागमती युवा क्लब र बागमती नगरपालिका सर्लाहीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार पाउने छ । उपविजेताले नगद ५ लाखमा चित्त बुझाउनु पर्नेछ ।