शिक्षा

धनकुटा क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र तालाबन्दी

By admin

March 21, 2022

धनकुटा । विभिन्न माग पूरा नभएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा सोमबार अनिश्चितकालीन तालाबन्दी गरेको छ।

 

गत फागुन २२ गते क्याम्पस प्रमुख समक्ष विभिन्न ७ बुँदे माग पत्र पेस गरेकोमा सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले कार्यकक्ष तोडफोड गरी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

 

क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली उनीहरूले कुर्सी समेत जलाएका छन्। यस्तै संघले विज्ञप्ति जारी गर्दै क्याम्पसमा पिउने पानीको व्यवस्था, शौचालय सुधार, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसार पुस्तकको व्यवस्था, छात्रावासको सुधार लगायत माग क्याम्पस प्रमुख समक्ष बुझाएको उल्लेख गरिएको छ।

 

माग सम्बोधन नभएकाले तालाबन्दी गरेको र सुनुवाइ नभए प्रशासनिक कामकाज समेत ठप्प पारिने संघका क्याम्पस इकाइ सभापति सुवास भण्डारीले चेतावनी दिए । क्याम्पस प्रमुख होमबहादुर बस्नेतले भने पठनपाठन सुचारु गर्न विद्यार्थी प्रतिनिधिहरूसँग छलफल भई क्रमिक रुपमा माग पूरा गर्ने निष्कर्षमा आइरहँदा आक्रोसित समूहले तोडफोड र आगजनी गरेको बताए ।

 

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भने घटनाको विरोध गरेको छ । क्याम्पस प्रमुखको कुर्सी जलाइएको तथा तोडफोड गरिएको घटनाप्रति अनेरास्ववियु क्याम्पस इकाइ समितिले विरोध जनाएको छ। इकान्तिपुरबाट