खेलकुद

कठिन जितसँगै आयोजक राजर्षि जनक कपको सेमिफाइनलमा

By admin

March 22, 2022

सर्लाही । आयोजक बागमती युवा क्लब यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौँको न्यूरोड टिम (एनआरटी)माथि कठिन जित निकाल्दै आयोजक अन्तिम चारमा पुगेको हो ।

 

स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक बागमतीले एनआरटीमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो । उसका लागि विदेशी खेलाडी जोमुल एन्थोनीको गोल निर्णायक बन्यो ।

 

प्रतिस्पर्धात्मक खेलमा एनआरटीले निकालेको केही राम्रा अवसर बागमतीका गोलरक्षक मनोज प्रधानले विफल तुल्याएका थिए । बागमतीका खेलाडीले गरेको प्रहारले गोलपोस्टको दिशा लिन नसक्दा घरेलु समर्थक निराश बनेका थिए ।

 

बागमतीमाथि स्कोर ननिस्कँदा खप्तड गोल्डकपमा हारको बदला लिने मौका पनि एनआरटीले गुमाएको छ । बागमतीका लागि जोमुल एन्थोनीले खेलको ८७औँ मिनेटमा गरेर आयोजकलाई सेमिफाइनलमा पुराए । एनआरटीका रक्षक शिव गुरुङले बल क्लियर गर्ने क्रममा पाएको अवसरलाई जोमुलले गोलपोस्टको दिशा दिएका थिए ।

 

खेलको म्यान अफ दी म्याच आयोजकका गोलकर्ता जोमुल एन्थोनी घोषित भए । उनले नगद १० हजार पाए । बुधबारको अन्तिम क्वाटरफाइनल खेल लिग च्याम्पियन मच्छिन्द्र क्लब र एभनिर एफसी क्यामरुनबीच हुनेछ ।

 

 

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ पाउने छ । उपविजेताले नगद ५ लाखमा चित्त बुझाउनु पर्नेछ ।