खेलकुद

हेटाैडाकाे पिप्ले राजर्षि जनक कपकाे फाइनलमा

By admin

March 24, 2022

सर्लाही । साविक विजेता हेटौडाको पिप्ले युथ क्लब यहाँ जारी छैटौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले टाइब्रेकरको साथ लिनु परेको थियो ।

 

चिरपरिचित प्रतिद्वन्द्वी आयोजक बागमती युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै पिप्लेले फाइनलमा स्थान बनाएको हो । पाँचौ संस्करणमा यी दुई टोली फाइनलमा भेट भएका थिए । जसमा पिप्लले बाजी मारेको थियो ।

 

स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पिप्पलेले ४-२ गोलले आयोजक बागमतीलाई पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।

 

पाएका अवसरलाई गोलमा बदल्न नसक्दा दुवै टोल निरश देखिन्थे भने घरेलु मैदानमा समर्थकको साथ पाउँदा पनि आयोजकले कुनै चमत्कार गर्न सकेन । दुवै टोलीले राम्रा अवसर खेर फालेका थिए ।

 

फाइनल प्रवेशसँगै पिप्ले युथ क्लबले कम्तिमा ५ लाख सुरक्षित गरेको छ । आयोजकको २ वटा प्रहार रोकेका पिप्लेका गोलरक्षक अनिश देउला म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार पाए ।

 

 

भोलि (शुक्रबार) अन्तिम सेमिफाइनल खेल लिग च्याम्पियन मछिन्द्र एफसी र सुदूरपश्चिम ११ एफसीबीच हुनेछ । बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ पाउने छ ।