खेलकुद

नेपाल थाइल्यान्डसँग २-० ले पराजित

By admin

March 24, 2022

झापा (एजेन्सी) । थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बिहीबार नेपाल २-० ले पराजित भएको छ । पूर्णतः रक्षात्मक भएर खेलमा उत्रिएको नेपाल थाइल्यान्डसँग २-० ले पराजित भएको हो ।

 

नेपालका गोलरक्षक किरण लिम्बूले पनि शृंखलाबद्ध बचाउ गरेता पनि दोस्रो हाफको अन्तिम १२ मिनेटमा नेपालले दुई गोल खाएको थियो । थाइल्यान्डको चोनबरीमा भएको खेलमा ७८ औं मिनेटमा फिलिप रोलरले पहिलो गोल गरे ।

 

जर्मनीमा जन्मेर थाइल्यान्डका लागि खेल्ने रोजेका रोलरले नेपाली रक्षापंक्तिले तेर्साएको कडा चुनौतीलाई पार गर्दै गोल गरेका हुन् । चोटवाट वीरचार्टले ८९ औं मिनेटमा दोस्रो गोल थपे ।

 

आसियान फुटबलको सर्वाधिक सफल थाइल्यान्ड एएफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि हो । रक्षात्मक खेल्ने क्रममा बल अधिकांश समय नेपालकै आधा भागमा रहेको थियो र टिमले कुनै गतिलो आक्रमण बुन्न सकेन ।

 

नेपाल र थाइल्यान्डबीचको यो तेस्रो खेल हो । नेपाल अहिलेसम्मका तीनै खेलमा पराजित रहेको छ । थाइल्यान्ड बसाइका क्रममा अब नेपालले आइतबार चोनबरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

 

एसियाकप छनोट तेस्रो चरणको तयारीका लागि नेपालले थाइल्यान्ड भ्रमण गरेको हो । नेपाल उक्त छनोटको समूह ‘ए’मा रहेको छ । त्यसमा रहेका अन्य टिम कुवेत, इन्डोनेसिया र जोर्डन हुन् । छनोट खेल भने कुवेतमा हुनेछ ।