सर्लाही । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसी यहाँ जारी छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम ११ एफसीलाई सहजै पराजित गरेर मछिन्द्रले बाजी मारेको हो ।
सुदूरपश्चिम ११ दोस्रो संस्करणको विजेता टोली हो । स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा मछिन्द्रले ३-१ गोलअन्तरले सुदूरपश्चिमलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको हो । मछिन्द्रले यस प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा दुवै टोलीबाट ४ गोल सम्भव भएको हो । खेलकै सुरुवाती गोल मछिन्द्रका विशाल राईले गरेका थिए । करिब २५ यार्डको दूरीबाट प्रहार गरेको बलले सोझै सुदूरपश्चिमको जाली चुमेको थियो । गोलरक्षक आकाश बुढाले बचाउको प्रयास गरे पनि सफल हुन सकेनन् ।
खेलमा फर्किनका लागि सुदूरपश्चिमका दिपेन्कराज सिंह ठकुरीको उत्कृष्ट गोल रह्यो । करिब २० याडको दूरीबाट सिधै गोलपोस्टमा उनले प्रहार गरेको बलले दोस्रो बारहुँदै जाली चुमेको थियो । लामो दूरीबाट गरिएको प्रहार बारिएको ठानेर मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाउने कुनै प्रयास नगर्दा गोल भएको थियो ।
खेल बराबरीका पुगेको मछिन्द्रले रणनीति परिवर्तन गर्दै सुदूरपश्चिममाथि थप दबाब सिर्जना गर्यो । लगत्तै कप्तान सुजल श्रेष्ठको पासमा विमल घर्तीमगरले गोल गरेर टिमलाई अग्रता दिलाए ।
मछिन्द्रका लागि विदेशी खेलाडी नुर्लानले टिमका लागि तेस्रो गोल गरेर फराकिलो गोलअन्तर निकाले । खेलको म्यान अफ दी म्याच मछिन्द्रका रक्षक देवेन्द्र तामाङ घोषित भए । उनले नगद १० हजार पाए ।
जितसँगै मछिन्द्रले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । यस्तै मछिन्द्रले आइतबार साविक विजेता हेटौडाको पिप्ले युथ क्लबसँग फाइनल खेल खेल्नेछ । पिप्लेले आयोजक बागमती युवा क्लबलाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १० लाख र ट्रफी पाउने छ । विदेशी २ टिमसहित १२ वटा फुटबल टोलीबीच प्रतिस्पर्धा भएको छ ।