समाज

गुराँसको राजधानीमा फूल टिप्नेलाई कारबाही

By admin

March 28, 2022

तेह्रथुम । घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानी मानिने तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ ।

 

पर्यटकले फूल टिप्दा हाँगासमेत भाँच्न थालेपछि वन कार्यालयले फूल नै टिप्न प्रतिबन्ध लगाएको हो । फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्षसमेत पलाउने क्रममा असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशित गरेर फूल टिप्न प्रतिबन्ध लगाएको हो ।

 

सूचनालाई बेवास्ता गरी कसैले फूल टिप्ने र हाँगा भाँच्ने गरेको पाइएमा कार्यस्थलमै कारबाही गरिने डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । फूल टिप्दा हाँगा समेत भाँचिने हुँदा गुराँसका प्रजाति मासिन सक्ने अधिकृत श्रेष्ठको भनाइ छ । साथै फूलसँगै हाँगा भाँच्दा गुराँसको बोट सुक्ने वन प्राविधिकहरू बताउँछन् ।

 

यस क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्ने समय सुरु भएको छ । कार्यालयले गुराँस फुल्ने वन क्षेत्रका ठाउँठाउँमा फूल टिपे कारबाही हुने आशयका होडिङ बोर्डसमेत राखेको छ ।

 

लालिगुराँस नगरपालिकाको देउरालीबाट सुरु हुने गुराँस क्षेत्रमा यतिबेला दैनिक ५ सय बढीको संख्यामा पर्यटक आउने गरेका छन् । गुराँस फूलको सौन्दर्यमा रमाउन र घना गुराँसे जंगलमा घुम्न आउने पर्यटकले गुराँसको फूल टिपेर लैजाने गरेको पनि भेटिन्छ ।

 

सवारी साधनमा आउने कतिपय आन्तरिक तथा वाह्य पर्यटकले त फूल टिपेर गाडीमा लोड गरेरसमेत लैजाने गरेका छन् । ‘फूल टिप्दा कि त बोट सुक्छ, बोट नसुके अर्को वर्ष फुल्दैन’ वन अधिकृत श्रेष्ठले भने । वसन्तपुरदेखि मिल्के हुँदै ताप्लेजुङको सांघुसम्म सडक निर्माण भइसकेकाले पनि यो सडकमा यात्रा गर्ने जोसुकैले फूल टिपेर लैजाने गरेका छन् ।

 

उक्त सडकको दायाँबायाँ यतिबेला राताम्मे भएर गुराँस फूलिरहेका छन् । पर्यटकका साथै स्थानीय बासिन्दाले पनि फूल टिप्ने गरेका छन् । स्थानीयहरू गुराँसको फूल टिपेर जुस, वाइन र रक्सी पनि बनाउने गर्छन् । जसले गर्दा पनि गुराँसे जंगलमा फूल मासिने क्रम बढेको सव डिभिजन वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत शिवनारायण मण्डलले बताए ।

 

फूल टिप्ने क्रम रोक्न वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिका पदाधीकारी र वन कर्मचारीसमेत परिचालन गरेको छ । आवश्यक परे प्रहरीसमेत परिचालन गरेर भए पनि गुराँसको फूल टिप्ने काम रोकिने वन अधिकृत श्रेष्ठको भनाइ छ । वन कार्यालयले पर्यटक फर्किने मुख्य नाका, सहायक नाका, गौंडा तथा जंगलबाट फर्किँदा पहिले भेटिने बजारका चोक र जंगल क्षेत्रमै गोप्य रुपमा सुराकी खटाएको छ ।

 

छद्मभेषमा खटिएका निगरानीकर्तालाई फूल टिपेको भेटेमा समातेर वन कार्यालयलाई बुझाउनेसम्म अधिकार दिइएको छ । यसरी पक्राउ परेकाहरुलाई वन ऐन तथा नियमावली अनुसार कारबाही गरिने वन कार्यालयले जनाएको छ ।

 

यहाँको पर्यटन व्यवसायको मुख्य आधार बनेको गुराँस फूल जोगाउने अभियानमा नगरपालिकाले चासो दिनुपर्ने स्थानीयको भनाइ छ । इकान्तिपुरबाट