समाज

साहित्यकार भट्टराईलाई ५१ हजारसहित दीर्घ साहित्य सेवा पुरस्कार

By admin

March 29, 2022

शनिश्चरे । बौद्धिक क्षेत्रमा कलम चलाएका साहित्यकार विष्णुकुमार भट्टराईलाई झापा अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समितिले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साहित्यकार भट्टराईलाई दीर्घ साहित्य सेवा पुरस्कार प्रदान गरेको हो ।

 

समितिले मंगलबार अर्जनधारा ८ स्थित शनिश्चरेमा नवनिर्मित अर्जुनधारा सामुदायिक पुस्तकालय उद्घाटनका अवसरमा साहित्यकार भट्टराईलाई अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार २०७८ प्रदान गर्यो । कार्यक्रममा साहित्यकार भट्टराईकी श्रीमती रुकमणि भट्टराईलार्ई पनि सम्मान गरेको थियो ।

 

साहित्यकार भट्टराईलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो । अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्धन समितिकी संयोजक सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पुण्य खरेलको प्रमुख आतिथ्य रहेको थियो । यसअघि यस पुरस्कारबाट शिक्षासेवी तथा साहित्यकार सरोजकुमार ओलीलाई पुरस्कृत गरिएको थियो ।

 

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत समितिकी संयोजक सुवेदीले गरेको कार्यक्रममा प्रमुख अतिथि खरेलले भवनको उद्घाटन तथा पुरस्कृत ब्यक्तिलाई सम्मान गरेका थिए ।

 

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले अन्य पालिकाले कला, साहित्य र संस्कृतिको संरक्षण कदम नचालेको अवस्थामा अर्जुनधाराका कार्य सराहनीय रहेको बताइन् । उनले भौतिक विकास निर्माणमा पालिकाहरु लागिरहेको उल्लेख गर्दै संस्कार संस्कृतिका जगेर्ना गर्न समिति अघि बढेकोप्रति खुसी व्यक्त गरिन् ।

 

कार्यक्रममा प्रमुख अतिथि खरेल, पुरस्कृत साहित्यकार भट्टराईलगायतले आआफ्नो भनाइ राखेका गरेका थिए । कार्यक्रममा गीत, गजल, मुक्तक, कवितालगायत साँस्कृतिक कार्यक्रमसमेत भएको थियो । त्यस्तै समितिका सदस्य तथा साहित्यकार कृष्ण बरालले सम्मानित ब्यक्तित्वको चर्चा तथा सम्मानपत्र बाचन गरेका थिए ।

 

 

कार्यक्रममा अर्जुनधारा ५ का वडाअध्यक्ष ध्यानबहादुर भारती, शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाल, नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमसागर सापकोटा, नगर अध्यक्ष अर्जुन मेचे, गीतकार हस्त परियारलगायतको उपस्थिति रहेको थियो ।

 

सोही कार्यक्रमकाबीच नेवाः देव दबुलाई लाखेंको मकुण्डो र वडा नम्बर ३ को समूहलाई पञ्चे बाजासमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कुमार भट्टराईले गरेका थिए ।