दमक । पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङलाई १-० गोलअन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो । मनाङको जितका लागि अफिज ओलावालेले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २९औँ मिनेटमा गोल गरेका थिए ।
खेलमा मनाङले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानेभञ्ज्याङले पनि पाएको अवसर खेर फाल्दा हार स्वीकार्न बाध्य बन्यो । खेलको म्यान अफ दि म्याच अफिज ओलावाले भए । उनले नगद दश हजार पुरस्कार पाए ।
बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।