खेलकुद

दमक गोल्डकपको छिनोफानो आज, पुलिस र मनाङ भिड्दै

By admin

April 01, 2022

दमक । दमक गोल्डकपको उपाधिका लागि आज (शुक्रबार) नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब मैदानमा उत्रिदैछन् । दमक ३ मा रहेको खेलमैदानमा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । पुलिस साविक विजेता टोली हो भने मनाङ उपविजेटा टोली हो ।

 

पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङले सेमिफाइनलमा मानेभञ्ज्याङ दार्जीलिङलाई हराएको थियो । प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् ।

 

पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले आफ्नो टिममा आफ्नै खेलाडी भएको कारण टीमको तालमेल मिल्ने भएकाले जित निकाल्न सहज हुने दाबी गरे ।

 

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफूसँग राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले अघिलो दमक गोल्डकपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने आफूहरुले जित निकाल्ने बताए ।

 

यसअघि २०७५ मा भएको दमक गोल्डकपको उपाधि पुलिसले जितेको थियो भने मनाङ उपविजेतामा चित्त बुझाएको थियो । यस पटक पनि मनाङले फाइनल भिडन्तमा पुलिसलाई नै प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।

 

शुक्रबारको फाइनल खेल समापनको लागि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउने आयोजकले जनाएको छ ।

 

दोश्रो संस्करणको दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।