खेलकुद

ऐतिहासिक आठराई मदन मेला सुरु, २६ टोली भिड्दै

By admin

April 01, 2022

तेह्रथुम । पूर्वी नेपालकै इतिहास बोकेको तेह्रथुमको आठराई गाउँपालिकास्थित संक्रान्ति बजारमा मदन मेला २०७८ सुरु भएको छ । मेलामा खेलकुदसँगै साहित्य र सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

 

२०१५ सालदेखि लाग्दै आएको मेलामा यसपटक २६ वटा फुटबल टिमले सहभागिता जनाउने आयोजक समितिका सदस्य प्रकाश लिम्बूले जानकारी दिए । उनका अनुसार महिलाको ८ वटा टिमसहित २६ वटा टोलीले चैत २३ गतेसम्म प्रतिस्पर्धा गर्नेछन् ।

 

पुरुष फुटबल टिमतर्फको विजेताले नगद १ लाख ३५ हजार र उपविजेताले नगद ७५ हजार पाउनेछ । यस्तै, महिलातर्फको विजेताले नगद ६५ हजार पाउँदा उपविजेताले नगद ४० हजार पाउनेछ ।

 

त्रि-माेहन माविको खेलमैदानमा बिहीबार भएको औपचारिक उद्घाटन कार्यक्रममा स्थानीय व्यापारी र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो । जसमा व्यापारी समूहका राजकुमार लिम्बूले गोल गर्दै टिमलाई जिताएका थिए ।

 

विजेता व्यापारी समूहले नगद ६ हजार पायो भने उपविजेता कर्मचारी समूहले ४ हजारमा चित्त बुझाएको थियो । मदन मेला तथा खेलकाे उद्घाटन गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले गरेका थिए ।