तेह्रथुम । ऐतिहासिक आठराई मदन मेला २०७८ मा जारी श्रीकृष्ण मेमोरियल फुटबल प्रतियोगितामा महिलातर्फ पाँचथरको पिवाइसी फाक्तेप र कर्णसिं सोनाम स्मृति एफसी ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार त्रि(मोहन माविको खेलमैदानमा भएको दुई सेमिफाइनल खेलबाट पाँचथर र ताप्लेजुङ फाइनलमा प्रवेश गरेको हो । उपाधि भिडन्तका लागि आज दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो खेलमा ताप्लेजुङले मदन मेला आयोजक समितिलाई १(० गोलले पराजित गरेको थियो । जसमा सनम राईले गरेको गोल नै निर्णायक बनेको थियो । उनी प्लेयर अफ दी म्याच घोषितहुँदै नगद २ हजार ५ सय पाउन सफल भइन् ।
दोस्रो खेलबाट पाँचथरले जित निकाल्दै ताप्लेजुङसँग फाइनल भेट पक्का गर्यो । छोटी बजार खाम्लालुङलाई पराजित गर्दै पाँचथरले फाइनलमा स्थान बनायो । उसका लागि मनिता तुम्रोकले गरेको गोल नै निर्णायक बनेको थियो ।
खेलको प्लेयर अफ दि म्याच फाक्तेपकी एलेक्स चौधरी घोषित भइन् । उनले नगद २ हजार ५ सय पाइन् । आज हुने फाइनल खेलको विजेताले नगद ६५ हजार र उपविजेताले ४० हजार पाउनेछन् ।