खेलकुद

इटहरी गोल्डकपको उपाधि भिडन्तमा आर्मी र सगरमाथा

By admin

April 09, 2022

इटहरी । इटहरी गोल्डकप फुटबलको उपाधि भिडन्तमा आज शनिबार डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सगरमाथा युथ क्लब मोरङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आर्मी उपाधि रक्षा गर्ने दाउमा छ भने घरेलु टोली सगरमाथा इतिहास रच्ने तयारीमा छ ।

 

अघिल्लो संस्करण उपविजेता मनाङ मर्स्याङ्दी क्लबलाई सेमिफाइनलमा ४-२ गोलले पराजित गर्दै सगरमाथा उपाधि नजिक आइपुगेको हो । यसअघि सगरमाथाले क्वाटरफाइनलमा एनआरटी क्लब काठमाडौंलाई ३-० ले हराएर आफूलाई बलियो दाबेदारमा प्रस्तुत गरेको थियो ।

 

रोलिङ क्बल धुलाबारीलाई पराजित गर्दै आर्मी फाइनल पुगेको हो । आयोजक जागृति क्लबलाई २-१ ले हराएर आर्मीले सेमिफाइनलको टिकट काटेको थियो । दुईपल्टको च्याम्पियन आर्मी भरत खवास कप्तानीमा टेकबहादुर बुढाथोकीसहित स्टार खेलाडीको साथ मैदान उत्रनेछ ।

 

आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ घाइते भएका छन् । त्यसले गर्दा उनी मैदानमा देखिने छैनन् । झापा गोल्डकप विजेता आर्मीको मुख्य लक्ष्य इटहरी गोल्डकप बनेको छ । प्रतियोगितामा पहिलोपल्ट सहभागी सगरमाथाले सशक्त टिमहरूलाई हराएर आफ्नो दरिलो उपस्थिति देखाएको छ । आर्मी र सगरमाथाबीच इटहरी रंगशालामा पहिलोपल्ट भेट हुँदैछ । घरेलु दर्शकको साथ पाएको सगरमाथाका खेलाडीमा उच्च मनोबलका साथ उत्रिरहेका छन् ।

 

सगरमाथाका कप्तान अशोक खवास फाइनल उत्कृष्ट हुनेमा ढुक्क छन् । उनले भने, ‘आर्मीको राम्रो टिम भए पनि दर्शकको साथले हामीलाई थप हौसला मिल्नेछ । उच्च मनोबलको साथ मैदानमा आर्मीविरुद्ध उत्रन्छौं ।’ दुई ठूला टिमलाई पराजित गरेका कारण आत्मविश्वास बढेको उनले सुनाए । उनले थपे, ‘आर्मीसँग खेल्दा मनोबल घटेको हुने छैन । हाम्रो एउटै योजना भनेको इनर्जी हो ।’

 

सगरमाथा युथका प्रशिक्षक युविन गुरुङ आर्मी बलियो प्रतिद्वन्द्वी भएका कारण जित निकाल्न कठिन हुने बताउँछन् । ‘हाम्रा लागि सहभागी हुनु नै ठूलो हो । टिमको मिहिनेतका कारण फाइनलसम्मको यात्रा तय गरेका छौं,’ उनले भने, ‘आर्मी आफैंमा सेट टिम भएकाले फिजिकल्ली र मेन्टालिटी राम्रो छ । हामी पनि खेल रणनितिअनुसार सफल हुनेमा आशावादी छौं ।’ केही खेलाडी परिवर्तन भए पनि बाकी प्लेयिङ सेटका खेलाडी नै मैदानमा उत्रने प्रशिक्षक गुरुङले बताए ।

 

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले उपाधि जित्ने तयारीमा रहेको बताए । उनले भने, ‘विशेष रणनीति बनाएर फाइनल खेल्नेछौं । डिफेन्डिङ च्याम्पियन भएका कारण उपाधि सुरक्षित गर्न कुनै कसर राख्ने छैनौं ।’ सगमाथाको टिममा ‘ए’ डिभिजन खेल्ने खेलाडीको वर्चस्व भएका कारण जित निकाल्न निकै मिहिनेत गर्नुपर्ने उनको तर्क छ । उनले भने, ‘बलियो टिमहरूलाई सगरमाथाले परािजत गरेका कारण उपाधि जित्न सहज हुने छैन तर हाम्रो सबल पक्ष भनेको स्टामिना हो । त्यसैले स्टामिनालाई खेल अवधिभर सदुपयोग गर्नेछौं ।’

 

आर्मीका कप्तान भरत खवास घरेलु मैदानमा खेल्न पाउँदा निकै खुसी लागेको अनुभुति पोखे । सगरमाथा टिममा उत्कृष्ट खेलाडीहरू भएका कारण प्रतिस्पर्धा गर्न कठिन हुने उनले बताए । उनले भने, ‘फिजिकल्ली र मेन्टली रूपमा तयार भएकाले फाइनल जित्छौं भन्ने छ । उपाधि रक्षाको लक्ष्य पूरा गर्छौं भन्नेमा विश्वस्त छौं ।’