इलाम । मोरङको लेटाङ एफसी इलामको फाकफोकथुम ४ स्थित फुएतप्पामा जारी दोस्रो त्रिवेणी आमन्त्रित गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय विष्णु माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक त्रिवेणी युवा विकास संस्था इलामलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिकूल मौसमका कारण निर्धारित समयको खेल हुन नसकेपछि दुवै टिमको सहमतिमा टाइब्रेकर रोजिएको थियो । निर्धारित समयको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफ बाक्लो हुस्सुका कारण सञ्चालन हुन भने सकेन ।
निर्णयका लागि रोजिएको टाइब्रेकरमा लेटाङ ५-३ गोलअन्तरमा विजयी बनेको हो । लेटाङका लागि कप्तान तथा गोलरक्षक अन्जित श्रेष्ठ, मोदी राई, सागर विक, सुन्दर लिम्बू र पवन श्रेष्ठले गोल गरे ।
आयोजकका लागि विनोद धमला, विशाल क्षेत्री र करण मगरको प्रहारमात्र गोलमा परिणत भयो भने विशाल घलानको प्रहार बाहिरिँदा लेटाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आयोजकका करण मगर प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद २ हजार पाए ।
त्रिवेणी युवा विकास संस्था फुएतप्पाले आयोजना गरेको गोल्डकपको विजेताले २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी पाउनेछ । भोलि आइतबार राइजिङ स्टार एफसी रवि पाँचथर र पथरी एफसी मोरङबीच खेल हुनेछ ।