समाज

हत्या गरेको अभियोगमा बाबुछोरा पक्राउ

By admin

April 17, 2022

मोरङ । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ६ का ६४ वर्षीय देवीप्रसाद तामाङ र ३२ वर्षीय मणिकुमार तामाङ कुटपिट गरी व्यक्ति हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

 

गत चैत ३० गते राति पौने १० बजेको समयमा स्थानीय देवीप्रसाद तामाङ र ४१ वर्षीय गणेश भनिने मानबहादुर तामाङ बीच सामान्य वादविवाद भई झैँझगडा भएको र बाबुलाई कुटपिट गरेको भनी देवीप्रसादका छोरा ३२ वर्षीय मणीकुमार तामाङले मानबहादुरलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाइते भएका थिए ।

 

घाइते मानबहादुरलाई उपचारका लागि बिराटनगरको न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख ३ गते बिहान मृत्यु भएको थियो । घटनाकोलगत्तै फरार रहेका दुवै बाबुछोरालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले वैशाख ३ गते नै पक्राउ गरेको हो भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।