इँटाभट्टा (झापा) । आसन्न स्थानीय तह निर्वाचनको तयारीका लागि उपमेयरसहित मेचीनगर नगरपालिकाका ५० जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको नियमानुसार मेचीनगर नगरपालिकाका ४५ जना जनप्रतिनिधिले शुक्रबार राजीनामा दिएका हुन् ।
उपमेयरसहित ५० जना जनप्रतिनिधिले मेयर विमल आचार्यसमक्ष राजीनामा बुझाएका थिए । राजीनामा दिनेहरुमा उपमेयर मिना पोखरेल उप्रेती, वडा नं १ का वडाध्यक्ष पासाङ तामाङ, वडा नं २ का वडाध्यक्ष तीलक न्यौपाने, वडा नं ३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, वडा नं ४ का वडाध्यक्ष नविन बराल, वडा नं. ५ का वडाध्यक्ष योगेन थापा मगर, वडा नं ६ का वडाध्यक्ष ललितबहादुर तामाङले राजीनामा बुझाएको नगरपालिका श्रोतले जनाएको छ ।
त्यस्तै वडा नं ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा नं १० का सुदय पनेरु, वडा नं ११ का सन्तोष मेचे, वडा नं १२ का नगेन्द्र धिमाल, वडा नं १३ का कृष्णराज सिग्देल, वडा नं १४ शंकर पोखरेल र वडा नं १५ का राजन भट्टराईले राजीनामा बुझाएको जनाएको छ ।
यसैगरी वडा सदस्य र कार्यपालिकाका सदस्यहरुले राजीनामा बुझाएका छन् । मेचीनगरमा जम्मा ८० जना जनप्रतिनिधिमा ५० जना जनप्रतिनिधिहरुले राजीनामा बुझाएका हुन् । अन्य ईच्छुक उम्मेद्वार जनप्रतिनिधिहरुले शनिबार बेलुकासम्ममा राजीनामा बुझाउने तयारी गरिएको बुझिएको छ ।