कनकाई । कनकाई नगरपालिकालमा अक्सिजन प्लान्ट सुरु भएको छ । कनकाई-३ स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको हो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोरोना संक्रमणको समयमा अक्सिजन अभावमा बिरामीहरुले छट्पटाउनु परेको अवस्था देखेरै अक्सिजन प्लान्ट जडान गर्नु परेको बताए । उनले प्लान्ट स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले ५० लाख, राज्यबाट १० लाख, र १ करोड ४ लाख नगरपालिकाले खर्च गरेको बताए ।
ललितपुर स्थित एभरेष्ट लाइन सप्लायर्सले प्लान्ट स्थापनाका लागि १ करोड ४९ लाख ५५ हजार ३१५ रुपैँया ७५ पैसामा आपूर्तीको ठेक्का लिएको नगरपालिकाका योजना अधिकृत विवेक भट्टराईले बताए । उनले यसमा प्लान्ट सेटका लागि थप १४ लाख ६ हजार ४८५ रुपैयाँ खर्च लागेको जानकारी दिए ।
अक्सिजन प्लान्टको सामग्री टर्कीबाट ल्याएको बताइएको छ । प्लान्टबाट दैनिक ४० लिटरको १६० वटा सिलिण्डर ग्यास उत्पादन गर्न सकिने सप्लायर कम्पनीका बायोमेडिकल इन्जिनियर प्रवल वाग्लेले बताए ।
एउटा ४० लिटरको सिलिण्डर २० देखि ३० मिनेटमा भर्न सकिने एभरेष्ट लाइन सप्लायर्सका अर्का इन्जिनियर आयुष जोशीले बताए ।