अर्थ बजार

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा

By admin

April 27, 2022

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यसवर्ष यति धेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर​ पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् ।

 

दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँच चौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिइन् । आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जनालगायत पुगेको उनले बताइन् ।

 

केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् । यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँच चौकीका पर्यटन सहायक सूर्यमान राईले बताए ।

 

कञ्चनजङ्घा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् । आधार शिविर आउने क्रम जारी रहेको छ । समिरबहादुर बस्नेत नेतृत्वको नौ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजङ्घा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।