झापा । १५ वर्षीया अप्सरा तामाङको निःशूल्करुपमा उपचार हुने भएको छ । एक महिना अघिदेखि दुवै खुट्टा नचल्ने भएपछि उपचार खर्चको अभावमा अप्सराले अरुको सहारामा रोएर दिन बिताइरहेकी थिइन् ।
उनीसंग न जन्मदिने बाबुआमा र परिवार साथमा नहुँदा उपचार गर्ने खर्च अभावले पिरोलिएकी थिइन् । यसैबीच, अर्जुनधारा नगरपालिकाका युवा समाजसेवी तथा मेयर पदका उम्मेद्वार बलदेव गोम्देनको पहलमा बिहीबार उपचारका लागि उद्दार गरिएको छ ।
गोम्देनको आग्रहअनुसार बिर्तामोडको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको टोलीले आफन्तको घरबाट अप्सरालाई उपचारका लागि उद्दार गरिएको हो । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च गोम्देनले व्यहोर्ने भएका छन् । यस्तै, बिएन्डसीमा उपचारका क्रमममा बेड चार्ज र डाक्टरको शूल्क प्रसाईले निःशूल्क गरिदिने बताएका छन् ।
भोजपुरको तिवारीञ्ज्याङ घर भएकी उनी अहिले अर्जुनधार ५ स्थित लक्ष्मीपुरमा दिदीको डेरामा शरण लिएर बसेकी थिइन् । गरिवीको कारण उनका बाबु रोजगारीको सिलसिलामा पाँचथरमा बस्दै आएका छन् भने उनी पनि सानै उमेरदेखि नारायणघाटमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् । एक महिनाअघि एक्कासी दुवै खुट्टा नचलेपछि घरसाहुले सामान्य उपचार गराएका थिए ।
तर, उपचारमा डाक्टरले एकदेख डेढ लाख खर्च लाग्ने भनेपछि उपचारबाट वञ्चित भएकी थिइन् अप्सरा । बहिनीको यो अवस्थावारे दिदी वेदमायाले थाहा पाएर लक्ष्मीपुरस्थित सञ्चमाया तामाङको घरमा रहेको आफ्नै डेरामा ल्याएर राखेको सुनाइन् ।
छरछिमेकसँग सामान्य सहयोग उठाएर उपचार गराए पनि सम्भव नभएको उनको भनाइ छ । हेर्दा स्वस्थ देखिए पनि १५ वर्षको कलिलो उमेरमै ओच्छ्यानमा पल्टिनुु र अरुको सहाराले दिशापिसाव गर्न बाध्य छिन् उनी । उनको कम्मरमुनिको भाग चल्दैन भने दाहिने हातमा चोट छ ।
जनप्रतिनिधिसंग हारगुहार माग्दा पनि चुनावको मुखमा कसैले पनि चासो नदेखाएको घरवेटी सञ्चमाया तामाङको गुनासो थियो । यसैबीच, गोम्देनको पहलमा अप्सराको उपचार हुने भएको छ ।