बिर्तामोड । झापा जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा श्याम दनुवार सर्वसम्मत चयन भएका छन् । आइतबार अर्जुनधारा ९ स्थित सालबारी झिलमा सम्पन्न संघको चौथो अधिवेशनले दनुवारलाई चार वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अर्जुनधाराका दनुवारको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन भएको हो । संघको तीन जना उपाध्यक्षमा लक्ष्मण जैसवाल, डिकबहादुर श्रेष्ठ र चन्द्रराज काफ्ले पनि सर्वसम्मतरुपमा चयन भएका छन् । संघको महिला सदस्यमा स्मृति खड्का रहेकी छन् भने सदस्यहरुमा सुशिल तामाङ, लोकराज ढुंगाना, लिला बाँस्कोटा, इजु तामाङ, लाक्पा तामाङ, खेमराज श्रेष्ठ, लक्ष्मण चौधरी, युवराज बजगाई र इन्द्र तामाङ पनि सर्वसम्मत चयन भएका छन् ।
संघको कोषाध्यक्ष र महासचिवमा विधानअनुसार पहिलो बैठकले क्रमशः उदय ठाकुर र लाेकराज अधिकारीलाई मनाेनित गरेकाे छ । निर्वाचन समितिको संयोजकमा एकराज पोख्रेल, सदस्यहरुमा दिपक कार्की र इश्वर घिमिरे रहेका थिए । पर्यवेक्षकका रूपमा झापा जिल्ला फुटबल संघका महासिचव शेरबहादुर बस्नेत थिए ।
यसअघि अधिवेशनको उद्घाटन झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाको प्रमुख आतिथ्यमा भएको थियो । आफ्नो मन्तव्यका क्रममा अध्यक्ष आलेले फुटबल खेलको मेरुदण्ड रेफ्री भएकाले फिफाको १७ वटा नियमको पालना गर्दै फुटबल खेल सञ्चालन गर्न रेफ्रीहरुलाई आग्रह गरे ।
रेफ्रीहरु अनुशासित भइ खेल सञ्चालनमा लागिपरेको खण्डमा मातृसंस्था फुटबल संघको मात्र गरिमा उच्च नभइ फुटबल आयोजक र प्रतियोगिता पनि महत्व पनि बढ्ने उनको भनाइ थियो ।
नेपाल रेफ्री संघका उपाध्यक्ष मधुसुदन खनालले रेफ्रीहरु व्यावसायिक बन्नका लागि सधैँ स्वास्थ्यका हिसाबले फिट हुनुपर्ने औँल्याए । सोही कार्यक्रममा झापाको एनी स्पोर्टस ब्राण्डका तर्फबाट सञ्चालक सन्तोष थोप्राले रेफ्रीलाई जर्सी प्रदान गरेका थिए ।
मन्तव्यका क्रमम सञ्चालक थोप्राले रेफ्री संघलाई थोरै सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भविष्यमा पनि सहकार्य गर्दै अन्य सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।
सोही कार्यक्रममा पूर्व रेफ्रीहरु एकराज पोख्रेल र खेम तामाङलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेको थियो । सम्मान ग्रहणपछि पूर्व राष्ट्रिय रेफ्री पोख्रेलले अग्रजलाई सम्मान गर्ने परम्पराको विकास भएको भन्दै संघका सबै सदस्यलाई धन्यवाद दिए ।
०६७ सालमा स्थापना भएको संघका अध्यक्ष प्रदिप बस्नेतले तीन कार्यकाल संघको नेतृत्व गरेका थिए । ७ जना रेफ्रीबाट सुरु भएको संघ अहिले २८ जना पुगेको बताउँदै खुसी व्यक्त गरे । संघसँग एनी ब्राण्ड पनि जोडिएर सहयोग पुराएको भन्दै बस्नेतले धन्यवाद दिए ।
हाल झापामा क वर्गका एक जना, राष्ट्रिय रेफ्री ४ जना र २३ जना एन्फा रेफ्री रहेको संघले जनाएको छ ।