समाज

बिर्तामोड र बुद्धशान्तिका फरार २ प्रतिवादी पक्राउ

By admin

May 04, 2022

झापा । अभियोग पुष्टि भई फरार रहेका दुईजना प्रतिवादी पक्राउ परेका छन् । झापाकाे बिर्तामोड र बुद्धशान्तिका दुई जना युवा फरक फरक मिति र मुद्धामा पक्राउ परेका हुन् । एक जनालाई डाका मुद्धा र एक जनालाई कीर्ते नागरिकताकाे मुद्धाकाे अभियाेग छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड ५ का ४१ वर्षीय सुशान्त चौधरी भन्ने सुशान्त कर्मकार र बुद्धशान्ति ७ का ३३ वर्षीय अञ्जु तामाङ भन्ने अजय तामाङ रहेका छन् ।

 

झापा जिल्ला अदालतको २०६४ भदौ २४ गतेको फैसला उल्टी गरी पुनरावेदन ईलामबाट भएको फैसला सर्बोच्च अदालतबाट २०६९ असोज १६ गते सदर गरी भएको फैसला बमोजिम झुटा विवरण पेश गरी नागरिकता लिन खोजेको मुद्धामा कर्मकार फरार रहेका थिए । अदालतले उनलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

 

त्यस्तै, झापा जिल्ला अदालतको २०६८ माघ १५ गतेको फैसला बमोजिम डाका मुद्धामा फरार रहेका तामाङ बुधबार पक्राउ परेका छन् । उनलाई ६ वर्ष कैद र ३ हजार जरिवाना तोकिएको थियो ।