खेलकुद

नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

By admin

May 07, 2022

काठमाडौँ । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद २०७९ को लोगो र मस्कट सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २०७९ को लोगो र मस्कट शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको हो ।

 

लोगोमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रे हिमाललाई लोगोमा देखाइएको छ । त्यस्तै मस्कटमा गण्डकी प्रदेशमा पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृगलाई देखिइएको छ ।

 

लोगोमा आकासे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिबिम्बित गर्ने र रातो रंगको चार धसाले परेवाको पखेटालाई संकेत गर्ने राखेपले जनाएको छ ।

 

‘परेवाको आकृतिलाई पूर्णता प्रदान गरी प्रतीक चिह्नमा गति प्रदान गरेको छ । साथै चार धर्साले खेल मैदानको ट्रेकका साथै गण्डकी प्रदेशको साबिकको प्रदेश नं. ४ लाई समेत दर्साउँछ‚’ राखेपद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

त्यस्तै उक्त ट्रेकमा रहेको चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सहभागी हुने सबै टिमको प्रतिनिधित्व गरेको सूचनामा बताइएको छ । यसैगरी यस आकृतिको तलका दुई हरफले राष्ट्रिय खेलकुदको संस्करण र साल एवम् उक्त प्रतियोगिता हुने स्थान अनि प्रदेश बुझाएको बताइएको छ ।