समाज

सातामा दुई दिन बिदा : बिरामीलाई थप मर्का

By admin

May 08, 2022

काठमाडौँ । आगामी जेठ १ देखि लागू हुने गरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णयले स्वास्थ्य क्षेत्र प्रभावित हुने भएको छ । बिदाको दिन हाडजोर्नी, नसा, डेन्टल, सुत्केरी-गर्भवतीको जाँच, छाला, न्युरो, साइक्याट्रिक, नाक, कान, घाँटीलगायतको ओपीडी सेवा मात्र नभई अप्रेसनमा समेत सोझो असर पर्छ ।

 

सरकारी ठूला अस्पतालमा चापका कारण पत्थरी, एपेन्डिसाइड, हाडजोर्नी, नसा च्यापिएको, ट्युमरजस्ता नियमित हुने अप्रेसनका लागि बिरामी वर्षौंसम्म कुर्न बाध्य छन् । सातामा दुई दिन बिदा दिने सरकारी निर्णय लागू भएको खण्डमा बिरामीले थप सास्ती खेप्नुपर्नेछ ।

 

उपत्यकाबाहिरका जिल्लाबाट राजधानीमा उपचारका लागि आउने सर्वसाधारण मात्र नभई सम्बन्धित जिल्ला, क्षेत्रीय अस्पताल र स्वास्थ्य चौकीमा समेत उपचार प्रभावित हुने देखिएको छ । तैपनि तालुकदार निकाय स्वास्थ्य मन्त्रालयले केही निर्णय गरेको छैन । स्वास्थ्य मन्त्रालयमा सरोकारवालासहित बसेको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता मिश्रले भनिन्, ‘स्वास्थ्यकर्मीको मानसिक, शारीरिक तथा पारिवारिक हिसाबले दुई दिन बिदा दिने निर्णय स्वागतयोग्य छ, सरकारको निर्णय पालना पनि गर्नुपर्छ तर स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले बिनातयारी निर्णय गरेको देखिन्छ ।’ उनले छलफलकै क्रममा रहेकाले धेरै प्रतिक्रिया दिन नमिल्ने बताइन् ।

 

सरकारले दुई दिन बिदा दिने निर्णयसँगै दैनिक काम गर्ने समय साढे ९ देखि साढे ५ सम्म ८ घण्टा तोकेको छ । अन्तर्राष्ट्रिय श्रम मान्यताअनुसार सातामा ४० घण्टा पुग्छ तर कडाइका साथ नियम लागू गर्न नसकिने अधिकारकर्मी ज्योति बानियाँले बताए । उनले भने, ‘यो सरासर निजी अस्पताल मोटाउने काम भयो । स्वास्थ्य मन्त्रालयले निर्णय कार्यान्वयन हुनुअगावै सरोकारवालासँग छलफल गरेर विकल्प खोज्नुपर्छ ।’

 

सातामा दुई दिन बिदा दिने प्रचलन यसअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा २०५६ साउन १ मा सुरु गरिएको थियो । शेरबहादुर शेरबहादुर आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा २०५९ वैशाखमा यो प्रचलन हटाएको थियो ।

 

अहिले फेरि उनकै पालामा पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन दुई दिन बिदा दिने निर्णय गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।