राजनीति

एमालेको अहंकार तोड्न तालमेल : शर्मा

By admin

May 10, 2022

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न तालमेल भएको बताएका छन् । संयुक्त गठबन्धन बिर्तामोडद्वारा मंगलबार बिर्तामोडमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहंकारको घोडा चढ्नेलाई ओराल्न गाह्रो हुने भन्दै त्यसको लागि दलहरुबीच तालमेल भएको बताएका हुन् ।

 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै पैसा तिरेर कन्यामको घोडा चढ्नेलाई र सिंहदरबारको सत्ताको घोडा चढ्नेलाई ओराल्न सजिलो हुने तर अहंकारको घोडा चढ्नेलाई ओराल्न गाह्रो हुने बताए ।

 

‘माथि कन्याममा घुम्न जानु भो भने पैसा तिरेर घोडा चढ्न पाइन्छ, त्यहाँ घोडामा चढेको मान्छेलाई ओराल्न गाह्रो हुन्न,’ उनले भने, ‘सिंहदरबारको सत्ताको घोडा चढ्ने मान्छेलाई पनि ओराल्न गाह्रो हुन्न । तर, जसले अहंकारको घोडा चढेको हुन्छ उसलाई त्यहाँबाट ओराल्नलाई गाह्रो हुन्छ । आज तालमेल त्यसकारणले बनेको छ कमरेड केपी ओली अहंकारको घोडा चढ्नतर्फ लाग्नु भो ।’

 

ओलीले अहंकारको घोडा चढेर मुलुकलाई अगाडि बढाउन खोजेकाले यो तालमेल बनेकाले कुनै अप्ठ्यारो नमानी ग्रहण गर्न मतदातालाई उनले आग्रह गरे । ‘यो मुलुकको संसदलाई विघटन गर्ने, कोरोनाले मान्छे मरिरहेको बेला चुनावको घोषणा गर्ने, आफ्नो पार्टी विभाजन गर्नतर्फ लाग्ने र एउटा अहंकारको घोडामा चढेर मुलुकलाई अगाडि लाँदै गर्दा यो तालमेलको आवश्यकता बन्यो,’ उनले भने ।

 

शर्माले दलहरुबीच तालमेल भएर १२बुँदे सम्झौतामा हस्ताक्षर भएपछि शान्ति सुरक्षा कायम भएको स्मरण गराए । दलहरुबीच तालमेल नहुँदा संविधान लेख्न नसकिएको, संविधानसभा विघटन भएको र तालमेलपश्चात् देशले संविधान पाएको र शान्ति कायम पाएको शर्माले बताए । देशले शान्ति सुरक्षा, संविधान पाउँछ भने तालमेल गर्नुपर्ने उनको भनाइ थियो ।

 

माओवादीको बन्दुकले नै गणतन्त्रको मुद्धालाई केन्द्रीय भागमा ल्याएको हो भन्ने कुरालाई स्वीकार्न कसैले हिच्किचाउनु नपर्ने बताउँदै कम्युनिष्ट आन्दोलनको एकताका लागि त्याग गरेका प्रचण्डको विश्वासलाई पनि ओलीले तोडेको उनले बताए ।

 

झापामा के हुँदैछ परिणाम भन्ने कुरा बुझ्नका लागि दुईटा मात्र तस्बिर बुझे पुग्ने शर्माको भनाइ थियो । उनले नेकपा एमालेका वडा सदस्य पदका उम्मेदवारले गठबन्धनको कार्यक्रममा सार्वजनिक रुपमा भाषण गर्दै उम्मेदवारी त्यागेको र एमाले अध्यक्ष ओली गृह जिल्लामा घुमिरहनुले पनि गठबन्धनको माहोल बनेको बताए ।

 

पार्टीको मुख्य जिम्मेवारीमा रहेका ओली गृह जिल्लामा आफूहरुको वरिपरि घुमिरहनुले गठबन्धनको माहोल सहजै बुझ्न सकिने शर्माको भनाई थियो । दमक वडा नम्बर ७ का एमालेको तर्फबाट वडा सदस्य पदका उम्मेदवार गुमानसिंह तामाङले दमकमा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै आफूले उम्मेदवारी नै फिर्ता लिएको घोषणा गरेका थिए ।