समाज

ताप्लेजुङमा मृत भेटिएका युवकको हत्या भएको एमालेको आरोप

By admin

May 12, 2022

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा बुधबार राति मृत भेटिएका विमल कार्कीको सत्ता गठबन्धनका कार्यकर्ताहरूले हत्या गरेको नेकपा एमालेले आरोप लगाएको छ ।

 

एमालेले विज्ञप्ति निकाल्दै कार्की एमाले कार्यकर्ता भएको र गठबन्धनका २५, २६ जनाले उनको हत्या गरेको आरोपसमेत लगाएको छ । एमाले जिल्ला कमिटीका अध्यक्ष भुपेन्द्र थेवेद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाइएको हो ।

 

‘गठबन्धनका हतियारधारीहरूले बाटो ढुकेर, लखेटेर, घेरा हालेर, ढुङगा प्रहार गरेर घिसारेर, काटेर क्रुरतापूर्वक हत्या गरेको घटनाप्रति नेकपा एमाले घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 

कार्कीको मृत्युबारे प्रहरी नायव उपरीक्षक कैलाश राईले अध्ययन भइरहेको बताएका छन् । ‘बाटोभन्दा तीन सय मिटर तल शव भेटिएको छ । लडेको र मृत्यु भएको अवस्थामा देखिएको छ । अनुसन्धानको पाटोबाट हेरिरहेका छौं । पोष्टमार्टमपछि केही तथ्य आउँछन्,’ उनले भने । स्थानीयहरूले केही देखेको हुनसक्ने भएकाले प्रहरीले केही स्थानीयलाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको जनाएको छ ।

 

बुधबार घर जान भनी दोभान बजारबाट हिँडेका कार्की राति मृत फेला परेका हुन् । उनी तेल्लावुङ कन्ट्रक्सनको जेसीभी मेसिनका चालक समेत थिए । उनको शव खोक्लिङको खोर्साने भन्ने स्थानमा फेला परेको थियो । इकान्तिपुरबाट