झापा । झापामा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ भने अर्की महिला सख्त घाइते भएकी छन् । हात्तीको आक्रमणबाट सोमबार दिउँसो ३ः४५ बजे मेचीनगर नगरपालिका ९ पशुपति टोलका ७० वर्षीय पेना किसानको मृत्यु भएको हो ।
टिमाई खोलास्थित थोप्ले विरान सामुदायिक वनबाट निस्किएको हात्तीले बगरमा हिँडिरहेको अवस्थामा किसानलाई आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सोमबार दिउँसो मेचीनगर ९ स्थित थोप्ले विरान सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा सोही ठाउँकी ३८ वर्षीया झुमा भनिने बसन्ती दनुवारलाई हात्तीले आक्रमण गर्दा सख्त घाइते बनाएको छ ।
पेट र शरीरको विभिन्न भागमा चोट लागेकी दनुवारको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।