खेलकुद

कप्तान किरणसहित ११ सिनियर खेलाडी टिम बाहिर

By admin

May 20, 2022

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपालले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एसियन कप छनोट खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।

 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

 

प्रशिक्षण छाड्नेमा रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, बिमल घर्तिमगर, सुमन लामा, सुमन अर्याल र दिनेश राजवंशी रहेका छन् । खेलाडीले बन्द प्रशिक्षण छाडेपछि विवादको सत्यतथ्य पहिचान गर्न एन्फाले समिति गठन गरेको थियो ।

 

नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठित तीन सदस्सीय समितिले बुधबार एन्फालाई प्रतिवेदन बुझाइसकेका छन्। छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

 

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।

 

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

 

 

नेपाली टोली :

गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

 

डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

 

मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

 

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ रहेको खेलपाटीमा समाचार छ ।