खेलकुद

ग्यालेक्सी फिटनेसद्वारा खेलाडी सम्मान

By admin

May 22, 2022

बिर्तामोड । १६औँ धर्मश्री बडिविल्डिङ च्याम्पियन तथा दोस्रो हुने खेलाडीलाई झापा बिर्तामोडको ग्यालेक्सी फिटनेसले बधाई तथा सम्मान व्यक्त गरेको छ ।

 

गत साता काठमाडौँमा सम्पन्न प्रतियोगितामा झापाका जीवन राई १६औँ धर्मश्री च्याम्पियन बनेका थिए भने ग्यालेक्सी फिटनेसका प्रशिक्षक ललित धिमाल दोस्रो बनेका थिए । उनीहरुले क्रमशः १० लाख र ५ लाखसहित उपाधि जिते । कार्यक्रममा च्याम्पियन बनेका जीवन धने उपस्थित थिएनन् ।

 

ग्यालेक्सी फिटनेसमा आयोजित कार्यक्रममा दुवै जनालाई बधाई तथा शुभकामना दिइएको थियो । क्लबका अध्यक्ष आशिष वनको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला जिम तथा फिटनेस संघका अध्यक्ष गंगालाल गुरुङलगायतले बधाई दिँदै ग्यालेक्सी फिटनेसले स्वास्थ्यलाई आधार मानेर व्यवसायमात्र नगरी खेलाडी उत्पादनमा योगदान दिएको चर्चा गरे ।

 

 

कार्यक्रममा ग्यालेक्सी फिटनेसकै प्रशिक्षक तथा सञ्चालक चन्द्र लाफालाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा आफ्नो प्रशिक्षकको सफलतामा शिष्यहरुले बधाई तथा शुभकामना प्रदान गरेका थिए ।