– डम्बरकृष्ण श्रेष्ठ
धराने जनताले यसपटक राजनैतिक स्वार्थ नहेरी, पार्टीको चश्मा खोलेर धरान र धराने जनताका लागि केही गर्छु भनेर लागी परेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई मेयरमा जिताउदा मलाई भने आश्चर्य लागेन । जित्ने सम्भावना भएका मनोज मेयाङ्बोले टिकट नपाउनु र काँग्रेससहितको गठबन्धन र एमालेले गतिलो उम्मेद्वार नदिनुले ‘भुईंमान्छे’ साम्पाङको उदय निश्चित नै थियो ।
अहिलेको दुषित राजनीतिक चलखेलको बीचमा धराने जनताले चुनावमा पार्टी नहेरी ब्यक्ति हेरेर भोट हालेका छन् । उपमेयर (कार्यवाहक मेयर रहिसकेकी) मन्जु भण्डारी र बुढासुब्बा गोल्डकप, एन्फा एकेडेमी लगायतका निकायका हर्ताकर्ता रहिसकेका किशोर राईलाई जनताले रूचाएनन् । उनीहरूको विवादास्पद काम र छवि देखे जानेका जनताले सूर्य र रुखकै भरमा तिनलाई नै आँखा चिम्लेर मत दिएनन् ।
जनताले यी दुई उम्मेद्वार छाडेर तेस्रो मान्छे रोजेमा अचम्म नमाने हुन्छ। भनेर मैले धेरैलाई भनेको पनि थिए । ती तेस्रो उम्मेद्वार ‘लौरो’ लिएर उठेका साम्पाङबाहेक अरू थिएनन् । टोल टोलमा मत माग्न जाँदा स्वागतसमेत नगरेका तिनै जनताले चुपचाप उनको कुरा सुने र अरूको तुलनामा उनैलाई रोजे ।
धरानको सडकमा आन्दोलन गरिहिँड्ने ‘भुईंमान्छे’ लाई मेयर नै बनाइदिए । हिजो जनताको समस्याको समाधानका लागी हारगुहार गर्दा जोबाट हेपिएका, पिटिएका र प्रहरी समेत लगाएर पक्राउ गरिएका हर्क आज तिनैलाई हराएर विजयी बनेका छन् ।
विगत १० वर्षदेखि एक्लै र सानो समूह लिएर जनताका समस्या समाधानका लागि लडिरहेका र जनताका घरदैलोमा पुगिरहेका हर्क साम्पाङलाई चुपचाप मत दिएर धराने जनताले दलहरूलाई दरो दनक दिएका छन् ।
चुनावका समय र त्यस अघिका उनको विचार र ब्यवहार हेर्दा केही गर्लान् कि जस्तो देखिन्छ । सबै क्षेत्रका विज्ञको सुझाव लिएर चुस्त र केही गर्नसक्ने टीम बनाएर भ्रष्टाचार र अनियमिततालाई धपाएर अघि बढ्न जरूरी छ ।
धरानको खानेपानी समस्या समाधान सप्तकोशीको पानीबाट मात्र सम्भव छ भन्ने उनले बुझिसकेकाले समस्याबाट छुट्कारा पाउने योजना फत्ते गर्न लाग्नुपर्ने देखिन्छ । अब उनको परीक्षाको घडी सुरू भएको छ । बधाई तथा शुभकामना । (फेसबुक वालबाट)