खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकाको उत्तरी वडामा जंगली हात्तीको आतंक बढेर गएको छ । भारतबाट बाहुनडाँगीहुँदै नेपाल प्रवेश गरेको हात्तीले अर्जुनधारा १ मा आतंकित बनाएको छ ।
दुई दिनअघि स्थानीय जंगलमा आइपुगेको करिब १५ वटा समूहमा रहेको हात्तीको बथानले स्थानीय बासिन्दाले लगाएको अन्नबालीमा क्षति पुर्याउन थालेको हो । स्थानीय नेता विष्णुलाल ढकालले आफ्नो १५ कठ्ठामा लगाएको मकैबाली खाएर, कुल्चिएर क्षति पुर्याएको बताएका छन् ।
उनका अनुसार दिनभर नजिकैको जंगलमा बस्ने हात्तीको बथान रात परेपछि गाउँ छिरेर अन्नबालीमा क्षति पुर्याउने गरेको छ । अहिलेसम्म ढकाललगायतको ५ बिघा जमिनमा लगाइएको मकैबाली पूर्णरुपमा क्षति भएको ढकालले दाबी गरेका छन् ।
दैनिकजसो हात्तीको बथान गाउँ छिर्न थालेपछि स्थानीय बासिन्दा थप त्रासमा छन् । उनीहरु दिनमा आफ्नो बालीमा पुर्याएको क्षति टुलुटुलु हेर्न बाध्य छन् भने रात परेपछि जाग्रम बसेर हात्ती धपाउँछन् ।
यसैबीच, हात्तीले स्थानीय बासिन्दाको अन्नबालीमा क्षति पुर्याउन थालेपछि अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनको नेतृत्वको टोली शनिबार राति नै पीडितसँगै हात्ती धपाउन पुगेको थियो ।
पीडित ढकालको घर पश्चिममा रहेको नेते खोलामा नै स्थानीयसँगै गोम्देन, सशस्त्र प्रहरी बल शनिश्चरेका डिएसपी जीवन भट्टराई, सशस्त्र प्रहरी बल खुदुनाबारीका प्रमुख टंक मगर, १ नम्बर वडा अध्यक्ष उपेन्द्र बस्नेतसहितको टोली पुगेको थियो ।
मध्यरातमा पुगेको टोलीले स्थानीय बासिन्दालार्य जंगली हात्तीको चाँडै नै ब्यवस्थापन गर्ने जानकारी गराएका थिए ।