खेलकुद

झापा एक खेलअघि नै ‘बी’ डिभिजनमा बढुवा

By admin

May 30, 2022

काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार विरगंज युथ एकेडेमीलाई ५-० गोल अन्तरले हराउँदै झापा बढुवा भएको हो ।

 

झापा एक खेल अगाबै बढुवा भएको हो । झापाले लिगको अन्तिम खेल श्वयम्भु फुटबल क्लबसँग खेल्नेछ । एन्फा कप्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गरे । सन्तोष लावतीले एक गोल थपे ।

 

खेलको १३औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६६औं मिनेटमा पुजनले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७४ औं मिनेटमा पुजनले ह्याट्रिक पूरा गर्दै झापालाई ३-० को अग्रता दिलाए ।

 

इन्जुरी समयमा सन्तोषले गोल गर्दै झापालाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम समयमा पुजनले व्यक्तिगत चौंथो गोल गर्दै झापालाई ५-० को सानदार जित दिलाए । जितसँगै झापाले १२ खेलमा ३१ अंक जोडेको छ । झापा शीर्ष स्थानमा समेत उक्लिएको छ ।

 

यस हारसँगै विरगंज रेलिगेसनमा परेको छ । विरगंज ५ अंक जोडेर १३औं स्थानमा रहेको छ । यसअघि ओसिस क्लब रेलिगेसनमा परिसकेको छ ।