अजुृनधारा । अर्जुनधारा प्रेस क्लबले अर्जुनधारा नगरपालिकामा नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाईस्वरुप स्वागत तथा सम्मान गरेको छ ।
नगरकक्षमा आयोजित एक अनौपचारिक कार्यक्रममार्फत नवनिर्वाचित मेयर बलदेव सिंह गोम्देनलाई क्लबका अध्यक्ष कुमार भट्टराईले दोसल्ला ओढाएर बधाई दिएका थिए । यस्तै, उपमेयर खड्गमाया पराजुलीलाई पूर्वअध्यक्ष दिपिन राईले दोसल्ला ओढाइ शुभकामना व्यक्त गरे ।
यसैगरी, करिब ५ महिलाअघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएकी गीताकुमारी राईलाई क्लबका उपाध्यक्ष रमेश समदर्शीले दोसल्ला ओढाएर स्वागत गरेका थिए । यसैगरी, क्लबका सदस्य रहेका नवनिर्वाचित ८ नम्बर वडाका अध्यक्ष कुमारप्रसाद उप्रेतीलाई पनि उनको कार्य कक्षमै पुगेरका बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष भट्टराईले कार्य सफलताको कामना गर्दै नगरलाई सञ्चारमैत्री बनाउँदै सुशासन बन्न सहकार्य गर्न जोड दिएका थिए । मेयर गोम्देनले जनताको काम गर्दा गुनासोरहित र पारदर्शी अपनाउने प्रतिवद्धता जनाएका थिए ।
समृद्ध नगर र सुखी नगरबासीका लागि गरिने काम कर्तव्यमा सञ्चारकर्मीको पनि महत्वपूर्ण भूमिका रहने भन्दै मेयर गोम्देनले जनप्रतिनिधि र कर्मचारीबाट हुने सम्भावित कमजोरीप्रति खबरदारी गर्न आग्रह गरेका छन् ।
सोही कार्यक्रममा निर्वाचन हुनुअघि उम्मेद्वारले जनतासामु प्रतिवद्धता जनाएको बुलेटिन नजर लोकार्पण गरिएको थियो । यलम्बर टाइम्स साप्ताहिकले प्रकाशन गर्ने उक्त बुलेटिनले जनतासामु गरिएको प्रतिवद्धता पूरा गर्न मद्दत मिल्ने सम्पादक दिपिन राईले जानकारी दिए ।