समाज

कन्यामको होटलमा सार्वजनिक शौचालय बनेसँगै सर्वत्र प्रशंसा

By admin

June 01, 2022

इलाम । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थल इलामको कन्याममा एक जना होटल व्यवसायीले सार्वजनिक सौचालय निर्माण गरि सञ्चालनमा ल्याएपछि अहिले त्यहाँको चर्चा चुलिएको छ । पर्यटन तथा होटल व्यवसायी टिका ओडारीले सञ्चालन गरेको होटल कन्याम इनमा सौचालय सञ्चालनमा ल्याइएको हो ।

 

व्यवसायी ओडारीलगायतका व्यवसायीले ०७४ सालमै स्थानीय तहको निर्वाचनपछि कन्यामको फोहोर व्यवस्थापन र सार्वजनिक शौचालयको माग गदैै आएका थिए । तर, स्थानीय सरकारले संख्यात्मक रुपमा शौचालय निर्माण गर्न नसक्दा टाढाबाट आएका पर्यटकलाई शौच गर्न गाह्रो हुने गथ्र्यो ।

 

पर्यटकको संख्याको तुलनामा शौचालय सूर्योदय नगरपालिकाले निर्माण गर्न नसक्दा दैनिक कन्याम आउने सयौँ पर्यटक समस्यामा पर्दै आएका थिए । कन्याम क्षेत्रमा घुम्न आउने आगन्तुकहरुको समस्यालाई मध्यनजर गरि पर्यटकको सहजताका लागि होटलमा शौचालय निशुल्क खुल्ला गरिएको व्यवसायी ओडारीले बताए ।

 

ओडारीले १२ वर्षअघि कन्याममा पहिलोपटक व्यवस्थित व्यावसायिकरुपमा होटल तथा लज शुरु गरेका थिए । उनले होटलको अग्रभागमै राखिएको साइन बोर्डमै लेखिएको छ, ‘निशुल्क सार्वजनिक शौचालय, तपाईंहरुकै सेवामा ।’

 

ओडारीले निशुल्क सार्वजनिक शौचालय सञ्चालनमा ल्याएपछि अहिले उनको प्रशंसा चुलिएर गएको छ । सामाजिक सञ्जालमा काठमाडौँका मेयर बालेन शाहको शौचालयबारेको प्रतिवद्धतालाई जोडेर कन्याम इनका सञ्चालक ओडारीलाई चर्चामा ल्याइएको छ ।