समाज

धरानको सुधार केन्द्रमा दमकका सन्तोष दाहालको मृत्यु

By admin

June 02, 2022

सुनसरी । मादक पदार्थ सेवनको लत छुटाउने भनेर सञ्चालन गरिएको धरानको एक सुधार केन्द्रमा एक जनाको गएराति मृत्यु भएको छ । सुतेकै ठाउँमा मृत्यु भएको भनिएको व्यक्ति काभ्रे घर भई झापाको दमकमा बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका ४० वर्षीय सन्तोष दाहाल रहेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायले बताए ।

 

दाहाललाई एक साताअघि जेठ १३ गते मात्र मादक पदार्थको लत छुटाउने भनेर धरान १३ मा रहेको गुरुकुल फाउन्डेसन पुनःस्थापना केन्द्रमा भर्ना गरिएको थियो । मृतक दाहालको परिवार सम्पर्कमा आइसकेकाले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

 

मादक पदार्थको लत लागेका दाहालको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरी निरीक्षक रायले भने, ‘सुधार केन्द्रमा मादक पदार्थको लत छुटाउने उद्देश्यले भर्ना गरिएका व्यक्तिको सुतेकै ठाउमा मृत्यु भएकाले जानकारी आयो । शवको मुचुल्का उठाएर पोस्टमार्टम गर्न बीपी प्रतिष्ठान पठाएका छौं ।’

 

उनले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र दाहालको मृत्युको कारण खुल्ने बताए । पछिल्लो समयमा लागूपदार्थ दूर्व्यसनी, मादक पदार्थ सेवन, जाँड, रक्सी, चुरोट, खैनीको लत तीन महिनामै छुटाउने भन्दै व्यावसायिक रुपमा पुनःस्थापना केन्द्रहरू सञ्चालन हुन थालेका छन् । तर, ती पुनःस्थापना केन्द्रमा लागूपदार्थ र मादक पदार्थ सेवनबाट मुक्त गराउन अपनाइने वैज्ञानिक विधि, चिकित्सकीय विधि र मनोवैज्ञानिक परामर्श विधि विज्ञ रहेको पाइएको छैन ।

 

प्रहरी निरीक्षक रायले भने, ‘यस्ता पुनःस्थापना केन्द्र खोल्न (सञ्चालन गर्न) दिने निकायले मापदण्ड हेर्दो होला । अनुगमन गर्दो होला । प्रहरीले त अनुसन्धान गर्ने हो । मृतक दाहालको केसमा पनि हामी अनुसन्धान गर्छौं ।’ इकान्तिपुरबाट