समाज

झापामा मोटरसाइकल चोर्ने गिरोह पक्राउ, १२ मोटरसाइकल बरामद

By admin

June 02, 2022

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न ८ जनाको एक गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा दुई नाबालकसमेत रहेका छन् ।

 

मोटरसाइकल चोरीमा संलग्न बिर्तामोड ५ बस्ने १८ वर्षीय करण मण्डल, वडा नम्बर ३ बस्ने १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ बस्ने १८ वर्षीय समिर मियाँ, आहिल ग्यारेजका संचालक सप्तरी टिकुली ५ बस्ने १७ वर्षीय करण महमद, गौरीगञ्ज ५ बस्ने १८ वर्षीय ओमप्रकाश यादव, इलाम चुलाचुली बस्ने १८ वर्षीय राहुल श्रेष्ठ तथा १४ र १५ वर्षका दुईजना नाबालकलाई पक्राउ गरी बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

 

बिर्तामोड क्षेत्रमा विगत केही महिनादेखि विभिन्न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले सुक्ष्मरुपमा खोजतलास शुरु गरेको थियो ।

 

त्यसक्रममा जेठ १८ गते अर्जुनधारा ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा १० स्थित बिमल हुमागाईको घर सटरमा ग्यारेज संचालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा मोटरसाइकल बरामद भएको थियो ।

 

त्यस्तै झापाका विभिन्न स्थानबाट ५ र इलामबाट एउटा गरी थप ६ वटासमेत गरी जम्मा १२ वटा चोरीको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

 

बरामद गरिएका मोटरसाइकलहरुमा प्र. १-०१-०१४ प ९३१९, मे. ६ प ७६३९, प्र. १-०१-०१२ प २७५, नम्बर प्लेट नटाँसेको एउटा, मे. ७ प ७६४३, मे १ प ७९४, मे. ६ प ६४५१, मे. ११ प ५२३७, मे. प ७६३९, मे. ९ प ७३४६, मे. ५ प ७१५०, मे. ४ प ४०६२ रहेका छन् ।

 

कार्यक्रममा बोल्दै डिएसपी पाठकले मोटरसाइकल चोरीमा संलग्न अरु पनि समूह हुनसक्ने भन्दै खोजीका लागि प्रहरीले सक्रियता बढाएको बताए । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले मोटरसाइकल हराउनबाट जोगिन मोटरसाइकल धनी स्वयं सजग हुनुपर्नेमा जोड दिएका छन् । दुई दिन अघिमात्र दमक प्रहरीले चोरी गरेको चारवटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।