हेटौडा । नव जनजागृति युवा क्लब, सिमरा शहीद स्मारक मकवानपुर गोल्डकप २०७९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिमराले बागमती युथ क्लब, सर्लाहीलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
हेटौंडाको पिप्ले रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा सिमराका लागि विवेक चौधरीले खेलको सुरुवाती मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए । वाग्मतीले धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेन।
खेलको अन्त्यतिर कृपाकान्त चौधरीले सिमराका लागि अग्रता दोब्बर पार्दै विजयी निश्चित बनाएका हुन् । खेलको प्लेयर अफ द म्याच विवेक चौधरी घोषित भई नगद १० हजार पाए ।
अब क्वाटरफाइनलमा सिमराले घरेलु टोली विजय युथ क्लब हेटौंडासँग खेल्नेछ । भोलि (शुक्रबार) भरतपुर फुटबल क्लब, चितवन र चर्च ब्वाइज क्लब भिड्दैछन् ।
१२ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथि थिए । हेटौंडा उपमहानगरपालिकाकी नवनियुक्त मेयर मिना लामा र उपमेयर राजेश बानियाँको समेत उपस्थिति रहेको थियो ।