अर्थ बजार

इन्धनमा कर हटेन, १० रुपैयाँ मूल्य घटाइयो

By admin

June 03, 2022

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको हो ।

 

‘करको दररेटको सन्दर्भमा मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले जेठ १७ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो ।

 

पत्रका आधारमा निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि मूल्य घटाउने निर्णय गरेको छ,’ सहप्रवक्ता कार्कीले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ७० रुपैयाँ, डिजेल १ सय ५३ रुपैयाँ र मट्टीतेल १ सय ५३ रुपैयाँ कायम भएको छ ।’

 

इन्धनमा भइरहेको मूल्य वृद्धि र त्यसले पारेको चौतर्फी असर कम गर्न कर समायोजन गरी मूल्य घटाउने चौतर्फी दबाब थियो । मूल्य वृद्धि नियन्त्रण गर्न भारतले कर (एक्साइज ड्युटी) घटाएर उपभोक्तालाई राहत दिने प्रयास गरेको थियो । यहाँ पनि पूर्वाधार कर घटाउनेबारे आवश्यक अध्ययन गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई जिम्मा दिएको थियो ।

 

अहिले अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिका कारण निगमको नोक्सानी चुलिएको छ । मूल्य समायोजनपश्चात् निगमलाई पेट्रोलमा ३१ रुपैयाँ ४१ पैसा, डिजेलमा २८ रुपैयाँ ३३ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७ रुपैयाँ ५१ पैसा घाटा छ । मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।