झापा । झापा फुटबल क्लबका पारस कार्की लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भए । झापालाई लिग च्याम्पियन बनाउँदै बी डिभिजनमा पुर्याउन महत्वपूर्ण योगदान गरेका पारस लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले व्यक्तिगत उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, प्रतियोगितामा प्लानिङ ब्वाइजका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए । उनले ३५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा फागुराम थारु र खेमराज तामाङ सर्वाधिक गोलकर्ता बने । दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो ।
झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै मनिष लिम्बु र पुजन राईले एक एक गोल गरे । स्वयम्भूका पाल्साङ लामा र राजिब मगरले एक-एक गोल फर्काए ।
च्याम्पियन बनेकाे झापा एफसीले लिगकाे अन्त्य सुखद् गरेकाे थियाे । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्न सफल रह्याे ।