समाज

झापामा आज साकेला सिली समापन गरिँदै

By admin

June 04, 2022

दमक । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा आज सितापुरीस्थित साकेला चोकमा भव्य साकेला सिली समापन कार्यक्रम हुनेछ । कार्यक्रममा जिल्लाभरका नगर तथा गाउँपालिकामा रहेका समिति र किरात राई समुदाय सहभागी हुनेछन् ।

 

कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले गर्ने तय भएको आयोजक समितिले जनाएको छ । साकेला सिली समापन कार्यक्रमलाई सम्बोधन गर्नका लागि मन्त्री राई झापा आउने किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए ।

 

कमल गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको सितापुरी साकेला चौक उत्तर जिल्ला साकेला थानमा हुने कार्यक्रमको तयारी गरिएको साकेला समापान समारोह व्यवस्थापन समितिका संयोजक जंगबहादुर राईले बताए ।

 

कोरोना भाइरस (कोभिड १९) का कारण गत २ वर्ष साकेला उभौली साकेला थानमा सामान्य पूजा गरेर मात्र मनाइएको किरात राई यायोक्खा केन्द्रीय सदस्य सुशिल राईले बताए । तर, यसवर्ष भने हर्ष उल्लासका साथ भव्यरुपमा सम्पन्न गर्न समिति जुटेको छ ।

 

साकेला सिली समापन कार्यक्रममा झापा जिल्लाका गाउँ समिति/नगर समिति/वडा समिति तथा साकेला सिली समूहहरु साथै इलाम, मोरङ र भारतको बागडोग्राबाट समेत साकेला टोली सहभागी हुनेछ ।