समाज

प्रेस युनियनद्वारा झापाका दुई पत्रकार पुरस्कृत

By admin

June 04, 2022

बिर्तामोड । नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारणसभामा दुई पत्रकार पुरस्कृत भएका छन् । साधारणसभामा पत्रकारहरु गोविन्दचन्द्र क्षेत्री र जोस्ना श्रेष्ठ पुरस्कृत भएका हुन् ।

 

नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता तथा प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद यज्ञप्रसाद र सकुन्तला पाठकले दिवंगत बुबाआमा टंकप्रसाद रमादेवी पाठकको स्मृतिमा स्थापना गरेको टंकप्रसाद-रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकका सम्पादक गोविन्दचन्द्र क्षेत्रीलाई पुरस्कृत गरिएको हो ।

 

यस्तै, टीकादेवी-कृष्णकुमार संग्रौलाले स्थापना गरेको रमादेवी-टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो विराटमा कार्यरत जोस्ना श्रेष्ठलाई पुरस्कृत गरिएको हो । यसै वर्षदेखि वितरण प्रारम्भ गरिएको पुरस्कारको राशि जनही ११ हजार एकसय रुपैयाँ नगद रहेको छ ।

 

कार्यक्रममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा संस्थाले पत्रकारहरुको बृहत्तर हित तथा बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको ‘नेपाल प्रेस युनियन पत्रकार अक्षयकोष’ बृद्धिका लागि सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरको थियो ।