समाज

कचनकवल १ मा सुत्केरी आमालाई ५ हजार सहयोग दिइने

By admin

June 08, 2022

झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

 

वडा अध्यक्ष महावीर लिम्वूका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार सहयोग गर्न लागिएको हो । आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि किरिया खर्चवापत पनि ५ हजारसहित समवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङले निणर्य गरेको अध्यक्ष लिम्बूले बताए ।

 

वडा अध्यक्ष लिम्बूका अनुसार साविक घेराबारी गापा रहेको वडा नम्बर १ का किसानको हितको लागि भोल्टेज सुधार कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न लागिएको छ ।

 

त्यस्तै, सामाजिक सुरक्षा भत्ताका कारण बृद्ध अवस्थाका नागरिकले पाएको कष्टलाई मध्य नजर गर्दै वडा कार्यालय नजिकैको बैंकबाट भत्ता उपलब्ध गराउने पहलकदमी शुरु गरिएको उनले बताए ।

 

युवा विद्यार्थीहरुको लागि खेलकुदलाई महत्वका साथ हेरेका लिम्बूले खेलकुद विकासको लागि गाउँपालिकास्तरीय र वडास्तरीय समिति मार्फत उपलब्धि उन्मुख कार्ययोजना सहित काम गर्ने बताएका छन् ।

 

आदिवासी समुदायका कारण पन्जिकरणमा देखिएको समस्यालाई हल गर्न समेत सुत्केरी र किरिया खर्च सहयोगले मद्दत पुग्ने उनको धारणा रहेको छ ।