समाज

पाँचथरको घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

By admin

June 08, 2022

पाँचथर । दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानुका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ ।

 

पानी कम भएपछि पानी भर्न रातभर पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।

 

घुर्बिसेपञ्चमी बजार ब्यवस्थापन समितिका पूर्वअध्यक्ष देवीचन्द्र आङ्देम्बेका अनुसार विगतमा स्थानीयस्तरका मुहानसमेतबाट प्रशस्तै पानी आउँथ्यो । यहाँ रहेका धाराखोल्सा, बोहोराटोललगायत मुहानबाट बजारमा पानी ल्याउने गरिएको थियो । यस्तै, फिदिम नगरपालिका ८ इथुङबाट पाइपलाइनमार्फत पानी लगिएको थियो । इथुङका स्थानीयवासीले मुहान थापेर पानी स्थानीयस्तरमै प्रयोग गर्न थालेपछि निकै कम मात्रै घुर्बिसेपञ्चमी बजारका लागि प्रवाह हुने गरेको छ ।

 

पाँचथर र इलामको सीमामा रहेको घुर्बिसेपञ्चमी बजारमै फाल्गुनन्द गाउँपालिकाको अस्थायी केन्द्र भएपछि व्यापारिक चहलपहल झनै बढ्न थाल्यो । राँके-रबि-भेडेटार सडकले समेटेको यस बजारमा उक्त सडक कालोपत्र हुने भएपछि वरिपरिका गाउँका स्थानीयवासीको आकर्षण बढ्दै गयो । बजारमा बसाईं सरेर आउनेको सङ्ख्या बढेसँगै घर थपिँदै गए, जनसङ्ख्या बढ्दै गयो ।

 

खानेपानी समस्या समाधानका लागि फाल्गुनन्द गाउँपालिका पाँचथर र फाकफोकथुम गाउँपालिका इलामले करिब ३५ लाख रुपैयाँ संयुक्तरुपमा लगानी गरी तीन वर्ष अघिदेखि यहाँ डिप बोरिङ सञ्चालनमा ल्याएका थिए ।

 

स्थानीयवासीका अनुसार केही समय नियमित सञ्चालन भए पनि डिपबोरिङमा दैनिकजसो समस्या आई स्थानीयवासीको आवश्यकता पूरा गर्न सकिएको छैन । विद्युत् महसुल महङ्गो पर्ने, विद्युत् नियमित नहुँदा डिपबोरिङबाट पानी ननिस्कने तथा डिपबोरिङ बिग्रिइरहने समस्या देखिएको छ ।

 

डिपबोरिङबाट सानो पानी प्रवाह हुने भए पनि शुल्क भने प्रतिघर मासिक न्यूनतम २५० पर्न जाँदा स्थानीयवासीले उक्त शुल्क तिर्न गाह्रो मान्ने गरेका छन् । बजार धेरै उचाइमा भएका कारण खानेपानीका लागि अन्य उपयुक्त मुहान प्राप्त नहुँदा खानेपानीको समस्या परेको हो । आङदेम्बेका अनुसार अहिले घुर्बिसेपञ्चमीका करिब ३०० परिवारले खानेपानीको समस्या भोगिरहेका छन् ।

 

खानेपानीको समस्या विकराल बन्न लागेपछि गाउँपालिकाको प्रयासमा अहिले फाल्गुनन्द ३ चिम्फुलामा खानेपानीको मुहान लिई खानेपानी आयोजनाको निर्माण थालिएको छ । फाल्गुनन्द ४ पुरानोपञ्चमीका स्थानीयवासीले आफूसमेत स्वच्छ खानेपानीको सुविधाबाट बञ्चित भएको भन्दै उक्त पानी आफूहरुले पनि पाउनुपर्ने माग गर्दै अवरोध गरेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामले उक्त आयोजना निर्माणकार्य अगाडि बढाएको छ ।