खेलकुद

आर्मी बन्यो मकवानपुर गोल्डकप च्याम्पियन

By admin

June 13, 2022

हेटौडा । घरेलु टोली विजय युथ क्लब हेटौडालाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी फुटबल क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

 

मकवानपुरस्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा विजय युथलाई २-१ ले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

 

आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । खेलको १५औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले टेकबहादुर बुढाथोकीको पासमालाई सुन्दर फिनिसको नमुना पेश गरेका थिए ।

 

त्यसको १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी प्रदान गर्दा डोना थापा चुकेनन् ।

 

दोस्रो हाफको शुरुमै कमलबहादुर थापाले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाएपनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन् ।

 

त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो । आर्मीले गत सिजन पनि च्याम्पियन बन्ने क्रममा विजय युथलाई नै पराजित गरेको थियो ।

 

उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयामा चित्त बुझाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल अशोक बरालले हात पारेका छन् ।