शिक्षा

सताक्षीधामको संस्कृत विद्यालयलाई खनालले दिए ९ लाख

By admin

June 13, 2022

झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा रहेको हरिवेद विद्यालयलाई विद्यालयको भौतिक संरचना निर्माण सहयोगार्थ नेपाली मूलका अमेरिकी नागरिकले ९ लाख आर्थिक सहयोग गरेका छन् ।

 

अमेरिकाको न्युयोर्कस्थित वफेल्लोका पुरुषोत्तम खनालले हरिवेद विद्यालयको पूर्वाधार निर्माण सहयोगार्थ ९ लाख रुपैयाँ नगदै प्रदान गरेका हुन् । विद्यालयका संरक्षक तथा गोलोक गोवर्दन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजलाई उनले नेपाली रुपैयाँ ९ लाख प्रदान गरे ।

 

सो विद्यालयमा २० जना बटुक अध्ययनरत छन् । वेद, रुद्री, चण्डी, व्याकरण, ज्योतिष, उपनिसद, योग र ध्यान लगायतका विषयमा अध्ययन अध्यापन हुने गरेको छ । तीन तलाको उक्त भवनका लागि गौसालाले हालसम्म १ करोड २५ लाख रुपैयाँ खर्च गरिसकेको गौशालाका अध्यक्ष नन्दकिशोरले जानकारी दिए । ‘गौशालाको आम्दानी नभएकाले दाताबाटै यो रकम संकलन गरेर भवन निर्माण सुरु भएको थियो,’ गौशालाका अध्यक्ष नन्दकिशोरले भने ।

 

उक्त भवन अत्याधुनिक प्रकृतिको छ । तीस वटा कोठा भएको सो भवन निर्माणका लागि अमेरिका, जापान, न्युजिल्याण्ड, क्यानाडा, अस्ट्रेलिया, भारत लगायतका मुलुकका नागरिकले भवन निर्माणमा सहयोग पुर्याएका छन् । ‘यो सबै संरचना मागेरै निर्माण सम्भव भएको हो,’ आचार्य नन्दकिशोरले भने । स्थानीयका अनुसार भवन निर्माणका लागि सरकारले सहयोग गरेको छैन ।

 

१३ जिल्लाका बटुक अध्ययन गर्ने सो विद्यालय छात्रबाससहितको हो । हरिवेद विद्यालयमा अध्ययन पूरा गरेपछि विद्यार्थीलाई उच्च शिक्षाका लागि भारतको वृन्दावन लैजाने गरिएको छ । विद्यालयका अनुसार २६ जना विद्यार्थीले यहि विद्यालयमा अध्ययन गरेर कर्मकाण्ड पेसा सुरु गरेका छन् ।

 

शिवसताक्षी नगरको हरिवेद संस्कृत विद्यालयलाई ९ लाख आर्थिक सहयोग गर्ने खनाल मोरङको पथरीस्थित बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका पुनर्बास भएका थिए । भुटानदेखिकै आफ्नो पुख्र्यौली पेसा जजमान भएकाले यहि पेशामा विद्यार्थीलाई आकर्षित गर्न विद्यालयको भौतिक संरचना निर्माण सहयोगका लागि आर्थिक सहयोग गरेको उनले बताए ।

 

‘पथरीमा पनि मेरो पेसा यहि हो । अमेरिकामा पनि यहि नै थियो’ उनले भने, ‘जन्मदेखि मृत्युसम्मका सबै संस्कार गर्न गराउन पुरोहित चाहिन्छ । गाउँघरमा पुरोहित भेटिन्नँ । संकटमा पर्न लागेको ब्राम्ह्णको परम्परागत पुरोहित पेसालाई बचाउन संस्कृत विद्यालयलाई सहयोग गरेको हुँ’, खनालले भने ।